ईश्वरलाई पत्र!!!

ईश्वरलाई पत्र!!!

ईश्वरलाई पत्र—–

वैक्रमाब्द २०७८-०७-१० बुधबार ।

परमपूज्य ईश्वर!

सादर चरण स्पर्श ।

आशा गर्छु कि, तपाईंको अवस्था त्यहाँ सर्वमङ्गल नै छ।

धर्तीमा धूम-धामले तपाईंको  पूजा-अर्चना हुने गरिरहेकै छ ।तपाईंलाई यहाँ निक्कै नै सम्झने गरिएको छ ।

तपाईंको “यदा यदा हि धर्मस्य ग्लानिर्भति भारत अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्। परित्राणाय साधूनां विनाशाय च दुष्कृतां धर्मसंस्थापनार्थाय सम्भवानी युगे युगे।।”भन्ने वचनको आश्वासन अनुसार तपाईं धर्तीमा अवतरित भैसक्नुपर्ने हो तर पनि तपाईंको कुनै सन्देश प्राप्त नभएको हुँदा यो पत्र लेख्दैछु ।

तपाईंले धर्ती छोडेर गएपछि धर्तीमा धेरै परिवर्तनहरू भएका छन्। अब  त यहाँ कुटीहरू हराए,त्यसका सट्टामा आलिशान महलहरू बनेका छन् । मान्छेहरू व्यक्तिगत घरमा बस्न छोडेर डेरा तथा अपार्टमेन्टमा बस्न थालेको धेरै भैसकेको छ । थोरै ठाउँमा नै धेरै मान्छे अटाएर बस्छन् तर कसैले कसैलाई चिन्दैनन् साथै चिन्ने  कोसिस पनि गर्दैनन् । चिन्नै परेमा पनि आफ्नो कामको लागि मात्र। महाभारतको जस्तो आमनेसामने भएर गरिने युद्ध अब छैन । यहाँ त अप्रत्यक्ष रुपले एकले अर्कोलाई हानी पुर्‍याउन तत्पर हुन्छन् तर परस्परमा मायावी बनेर मुस्कानको विष छर्न सिप्पालु भएका छन् । यो कुरामा मान्छेले असाधारण अनि उल्लेख्य प्रगति हासिल गरेको छ । व्यक्ति हत्यालाई आत्महत्याको पगरी चढाउनु त सामान्य भयो । यहाँ त मातृभूमिको बलात्कार गर्नुलाई महान् कार्यको उपमा दिन थालिएको छ । बलात्कारी, हत्यारा,भ्रष्टाचारी, सामाजिक रूपले नैतिक पतन भएकाहरू खुलेआम छाती फुलाएर हिंड्न सफल भएका छन् | जीवनमा सफलताको मापन मौद्रिक मूल्यमा हुन थालेको धेरै नै भैसकेको छ | हात्तीको खाने मुख र देखाउने मुख फरक फरक  हुन्छ भनेजस्तै यहाँ मुखमा रामराम र बगलीमा छुरा बोकेर हिंड्नेहरूको कमी छैन | कलियुगकै प्रभाव  बढेर हो  या अन्य कुनै कारणले समाज नै त्यस्तै हुँदै गएको  हो  भन्न सक्ने अवस्था रहेन अब | कुलीन घरका व्यक्तिहरू नै खुरापाती कर्महरू गर्दै अपराधलाई बढावा दिंदै गरेको पाइएको छ भने समाजका निमुखा वर्गहरू उनीहरूकै अनुशरण गरिरहेको पाइन्छ| सफलता र प्रगतिको मापन नै परिवर्तन  हुन थालेको छ | सम्पत्ति कमाउनु र आलिशान जीवन बिताउनु नै जीवनको मुख्य उद्देश्य हुन थालेको देखिन्छ  भने धनभन्दा विद्या ठूलो  भन्ने अवधारणा लोप हुँदै त्यसको स्थानमा विद्याभन्दा धन ठूलो भन्ने मापन स्थापित हुँदै गएको देखिन्छ | समाज पूर्णरूपले मत्स्यन्यायमा आधारित भएर चल्दै गइरहेको देखिन्छ भने धनी र गरीबहरूका बीचमा खाडल बढ्दै गएको अब छर्लङ्ग हुँदै गएको छ |अचेल त बालकहरूलाई सानैबाट  नै वित्तमय शिक्षा दिन थालिएको  छ| जनै र टुप्पी पाल्ने संस्कार हराउंदै गैर त्यसको स्थानमा टाईको प्रयोग बढ्दै गएको देखिन्छ | आचारविचार भन्ने कुरा मान्छेहरूको मनबाट हराउँदै गएको देखिन्छ | नक्कली राष्ट्रवादले देश दिनानुदिन अझ जर्जर बन्दै गएको र राष्ट्रिय स्वाधीनता संकटमा पर्दै गएको प्रत्यक्ष अनुभूति  हुँदै गएको छ | जनता आपसमा विभाजित भएर रहन पुगेका छन् भने नेतृत्वले मनोमानी गर्दै आएको छ | लथालिंग देशको भताभुंग चाला, जसजसले पाउला उसउसले खाला भनेजस्तै हुँदै गएको छ | चाडबाडको मौका पारेर एकातिर बलिको विरोध गर्ने र अर्कोतिर छालाजन्य वस्तुको प्रयोग गर्दै लुकीलुकी मांसभोजन गर्ने चलन व्यापक रूपले बढ्दै गएको छ | गौहत्या पाप भए पनि लुकिलुकी गोमांस सेवन तथा तस्करी गर्छन्।गोरक्षाको लागि खोलिएका गौशाला पनि निकम्मा हुन थालेका छन् । यहाँ प्रविधिले उस्तै फड्को मारेको छ। ईन्टरनेटको जञ्जालबाट मुक्ति लगभग असम्भव छ| बालबालिकाहरू दिनानुदिन यसको दुश्प्रभावको शिकार बन्दै गईरहेको देखिन्छ | इन्टरनेटको उपयोगभन्दा ज्यादा दुरुपयोग बढ्दै गएको छ ।समग्रमा भन्नुपर्दा देश तथा समाज निकै नै जर्जर र भताभुंग अवस्थामा जाँदैछ|समस्या यहाँ धेरै नै रहेको छ | सबै कुरा एकै पत्रमा अटाउन गाह्रो पर्ने भयो तर पनि यहाँका आस्तिकजनहरूले अझै पनि तपाईको भक्ति गर्न छोडेका छैनन् | तपाईंप्रतिको आशा अझ  पनि मान्छेहरूको मनमा जीवित नै रहेको पाइन्छ | अब ईश्वरले पनि ईश्वरको  ईश्वरत्वको प्रभावबाट यो संसारमा दुष्टको विनाश गरिदिन आग्रह गर्छु र यो दैवदेशको रक्षा गरेर आफ्नो वचन पूर्ण गरिदिनुहुन सादर अनुरोध गर्दछु |

मर्त्यलोकको स्वर्गरूप नेपालको काष्ठमण्डप नगरबाट एक बबुरोको यो पत्र प्रभुको चरणमा पेश गर्दछु |

आवश्यक जानकारी र अन्य खबरहरू पछिल्ला पत्रहरूमा गरौंला । अस्तू!!!!!!

 

 Fans

Leave a Reply

Your email address will not be published. Required fields are marked *