मृत्यु मीमांसा

दर्शन विचार
0Shares

सांसारिक माया मोह, आफन्तहरू, सम्पत्ति लगायतका सबै कुराहरूलाई मेरो मेरो भन्दाभन्दै पनि एक दिन चटक्क छाडेर जान बाध्य गराउने, संसारमा सर्वव्यापक रूपले रहेको र सबैको मनमा भय बनेर विकराल रूपले प्रस्तुत हुने एक मात्रै चीज हो– मृत्यु। 

मृत्युले आक्रान्त रहेको संसारमा मृत्युलाई समय वा समयसीमा वा आयु पनि भन्न सकिन्छ। मान्छे मर्नदेखि असाध्यै भयभीत छ।  संसारमा जन्म लिएपछि मृत्यु अवश्यम्भावी छ भन्ने कुरा जान्दाजान्दै पनि खै किन हो मृत्युलाई बुझ्न र सहज हिसाबले आलिङ्गन गर्न मानव मन तयार रहेको पाइन्न।

मृत्युलाई किन र कसरी हाउँगुजी बनाइएको छ र त्रासको विम्व बनाइएको छ भनेर बुझ्नका लागि धेरै गाह्रो छैन। हाम्रै समाजमा पनि जब कसैको मृत्यु हुन्छ, तब कुनै एक अबोध बालकले प्रश्न गर्छ– त्यो  मान्छे किन र कसरी मर्यो ? यसमा कुनै बुज्रुकले जवाफ दिन्छ– काल आएर। 

अझ कसैकसैले त सास फेर्न नसकेर, आयु पुगेर, कुनै रोग लागेर वा दुर्घटनामा परेर मृत्यु भयो भनिदिन्छन्। कतै मजाकमै उडाएर त कतै स्पष्ट जवाफ दिन नसकेर मृत्युसम्बन्धी प्रश्नलाई टार्ने कोसिस गरिएको पाइन्छ जसको कारणले गर्दा मृत्युको नजिक हुन कोहि चाहँदैन वा भनौं मृत्युलाई बुझ्ने कोसिससम्म पनि गर्दैन। 

तपाईं हामीले पनि बालककालमा यस्तै खाले उत्तरको सामना गरेर आएकै हौँ।  त्यसैले हाम्रो समाजमा अझसम्म पनि मृत्यु एक विकराल विद्रूप लिएर सामुन्ने खडा हुन सकेको छ।  यदि पहिल्यै मृत्युका बारेमा सहज हिसाबले बुझ्ने/बुझाइने कोसिस गरिएको भए सम्भवत: मृत्युको भयानक  र त्रासदीयुक्त स्वरूपले हुर्कने मौका अवश्यै पाउने थिएन। 

केही वर्ष अघि नजिकको नातामा पर्ने एक भाइको कलिलो उमेरमै दुर्घटना परि मृत्यु भएपछि मेरा मनमा मृत्युको चिन्तनले डेरा गाड्न सुरु गर्यो र मृत्युको चिन्तन आउन सक्यो। आखिर मृत्यु के होरु र मृत्यु किन हुन्छरु मृत्युबाट मुक्त हुने मानव चाहना आजसम्म पनि किन पूरा हुन सकेन रु मृत्युको विभीषिका समाजमा कसरी व्याप्त हुन पुग्योरु आउनुहोस्, मृत्युसम्बन्धि केहि चिन्तन गरौँ। 

मृत्युलाई व्याख्या गरिनुपूर्व जीवनका बारेमा केहि बुझ्नु आवश्यक हुन्छ अन्यथा मृत्युको व्याख्या नै राम्रोसँग हुन सक्तैन।  जीवन के हो रु जीवनको परिभाषा के हो रु यस कुरामा सबैका आआफ्ना मत रहेको पाइन्छ।  ती सबै मतलाई छाडेर एक शब्दमा भन्नुपर्दा कुनै पनि जीवको स्वस्वरूपमा रहन सक्ने क्षमता वा गुण नै जीवन हो भने त्यसको ठीक विपरीत अवस्थामा स्वस्वरूपमा रहन नसक्नु अर्थात् स्वस्वरूपबाट विच्युति नै मृत्यु हुनु हो। सामान्य अर्थमा भन्ने हो भने चेतन तत्त्व आत्मा र जडतत्त्व शरीरको संघटन जीवन हो भने विघटन नै मृत्यु हो।  

संस्कृत भाषामा प्राणधारण अर्थमा ‘जीव’ धातुमा  णिच् (ल्युट्) प्रत्यय लागेर जीवन शब्दको निष्पत्ति हुन्छ भने प्राणत्यागको अर्थमा मृङ् धातुमा  त्युक् प्रत्यय लागेर मृत्यु शब्दको निष्पत्ति हुन्छ। नेपाली भाषामा  मृत्यु हुनु, मर्नु, प्राणत्याग गर्नु,  बित्नु, खस्नु , चिलिम फर्किनु, देहावसान हुनु, निधन हुनु, देहत्याग गर्नु आदि शब्दले पनि मृत्युको बोध गराउने गरेको पाइन्छ। 

मृत्युले आक्रान्त रहेको यस संसारको अर्को  नाम ‘मर्त्यलोक’ पनि हो।  मृत्युलोक पनि भनिने यस संसार मृत्युले आवृत्त रहेको कुरा नौलो होइन। हाम्रा शास्त्रहरूले पनि भन्छन् – नैवेह किञ्चनाग्र आसीन्मृत्युनैवदमावृत्तामासीत्। (बृहदारण्यकोपनिषद्, अध्याय १ , ब्राह्मण २, श्लोक १ को अग्रभाग) भावार्थ– मन आदिको उत्पत्ति हुनुपूर्व संसारमा केहि थिएन, यो सबै  मृत्युले आवृत्त थियो।

भगवद्गीतामा पनि प्रसङ्ग आउँछ– जातस्य  हि  ध्रुवो  मृत्यु: (अध्याय २ , श्लोक २७) । अर्थात् जन्म लिनेको मृत्यु निश्चित छ। जब जन्म लिनेहरू सबैको मृत्यु हुन्छ भने मृत्युदेखि मानव मन किन त्रस्त छ ? सबैले एक दिन मर्नुपर्छ भन्ने कुरा मान्छेले नबुझेको कुरा पनि होइन। 

पुराणमा हिरण्यकशिपु नामक राक्षसको कथा आउँछ। उसले अमरत्वको अभिलाषा राखेर ब्रह्माजीको तपस्या गर्छ। ब्रह्माजीले प्रसन्न भएर उसलाई वरदान माग्न भन्दा उसले अमरत्वको नै वरदान माग्छ। ब्रह्माजीले अमरत्वको वरदान कसैलाई दिन नसक्ने र त्यसको बदलामा अरू नै केहि वरदान माग्नु भन्ने अनुरोधमा हिरण्यकशिपुले वरदान माग्छ– न आकाशमा मरूँ, न पातालमा। न जलमा मरूँ, न स्थलमा नै। न घरभित्र मरूँ, न घर बाहिर नै। न जनावरबाट मरूँ, न मानवबाट नै। न दिनमा मरूँ, न रातमा मरूँ। न अस्त्रले मरूँ, न शास्त्रले नै।

ब्रह्माजीले तथास्तु भनेर वरदान दिनुभयो। तत्पश्चात् आफूलाई अमर रहेको घोषणा गर्दै हिरण्यकशिपुले संसारमा अत्याचार मच्चाउन सुरु गर्यो। विष्णु भगवानले आफ्ना भक्त प्रह्लादलाई पनि मार्न खोजेपछि नृसिंह अवतार लिएर आकाश र पातलको मध्यमा अर्थात् पृथ्वीमा, जल र स्थल नहुने गरेर आफ्ना काखमा राखेर, घरभित्र र बाहिर नहुने गरेर बीचमा ढोकामै राखेर, जनावर र मानव दुवै नहुने गरेर दुवैको मिश्रित रुप नृसिंह अवतारले दिन र रातको बीच अवस्था अर्थात् साँझको समयमा, शास्त्र र अस्त्रले रहित भएर आफ्ना नंग्राले हिरण्यकशिपुको वध गर्नुभयो। 

अनेक उपाय गरेर अमर रहने कोसिस गरेको हिरण्यकशिपुले पनि मृत्युको वरण गर्नुपर्यो भने मान्छे त सामान्य अवस्थामा छ। मान्छे मृत्युबाट भयभीत हुनु एक हिसाबले स्वाभाविक पनि छ।

आजको मान्छे एकपल भए पनि बाँच्नका लागि अनेक प्रयत्न गर्ने कोसिस गरिरहेको छ ।सांसारिक मोहको लोलुपताले मानिसलाई निरन्तर सत्यबाट टाढा लागिरहेछ। आजको भौतिकवादी जीवनमा अर्थार्जन नै प्रमुख साध्यका रूपमा चित्रित हुँदै गएका अवस्थामा मृत्युको बोध हुनु अझ बढी आवश्यक बन्दै गइरहेको छ।  

जति नै टाढा भाग्ने कोसिस गरे पनि मानिस निरन्तर मृत्युकै सम्मुख देखा परिरहेछ।  यो नै आजको प्रमुख सत्य हो। मान्छेको मन मायावी दुनियाँको लोलुपताले गर्दा मृत्युजस्तो परम सत्यको अनुभूतिबाट टाढा रहेकाले गर्दा नै मृत्यु विकराल स्वरूपले खडा हुन सकेको स्पष्टै छ।

मानव जीवन मृत्युसँग लुकामारीको खेल सृष्टिको प्रारम्भदेखि नै आजपर्यन्त पनि खेलिरहेकै छ। मृत्युलोकमा मृत्युमाथिको विजय असम्भव छ भन्ने जान्दाजान्दै पनि मानव मन हार मान्दैन। जीवनका अनेक उल्झन,च्याँठ,ठक्करहरूका कालकोठरीहरूमा रुमल्लिँदै मर्नुअघि सम्म पनि सत्यको एक झिल्काको दर्शनका निमित्त मरिमेटीरहेछ । 

दुर्भाग्य नै भन्नुपर्छ, मानव ज्ञानेन्द्रीय सत्यको झिल्का पाउनासाथ आफ्नो अस्तित्व गुमाउन पुग्दछ।  जीवनको परम सत्यका रूपमा लिइएको मृत्युको सत्यसँग मानव मन जोडिन खोज्दैन।  मृत्युलाई बुझ्नुभन्दा मृत्युबाट भाग्नु नै उसको परम लक्ष्य छ। अरू मर्दा सान्त्वना दिने मान्छे आफूलाई भने अमर ठान्ने गर्दछ।  मलामी गएका बेलामा वा कसैबाट प्रवचन सुनेका बेलामा उसले मृत्युको सत्यलाई स्वीकार गरे पनि उसको व्यवहारिक जीवनमा भने उसले आफूलाई कहिल्यै नमर्ने जस्तो नै बोध गरिरहेकै हुन्छ।

महाभारतमा वनपर्वमा यक्ष युधिष्ठिरलाई सोध्छन्– संसारमा सबैभन्दा ठूलो आश्चर्यको कुरा के छ ? युधिष्ठिर जवाफ दिन्छन्– प्रतिदिन जीवहरूको मृत्यु देखेर पनि मानवले जीवनमा स्थिरता चाहेको छ र अभिमानपूर्वक यस्तो आचरण गर्छन् कि मानौं काेही कहिल्यै मर्दैन। यो भन्दा ठूलो आश्चर्य के हुन सक्ला र ?

हो, मान्छेले कुनै कुनै बेलामा भने आफूले पनि मर्नुपर्छ भन्ने कुराको बोध चाहि गरेको पाइन्छ। मलामी गएका बेलामा, अस्पतालमा मृत्यु सम्मुख रहेको रोगी देख्ता, पुराणहरू श्रवण गर्दाका अवस्थामा उसले मृत्युको सत्यलाई स्वीकार गरे पनि त्यो केवल क्षणिक मात्रै रहेको हुन्छ जुन कुरा उसको वास्तविक व्यवहारिक जीवनमा केहि समय पश्चात् नै हराएर जान्छ।  यदि मृत्युको बोध मान्छेले बारम्बार गर्थ्यो भने सायद संसारमा पापकर्म तथा परपीडनका कार्यहरू अवश्यै हुने थिएनन्। 

मृत्युको उत्पत्तिका बारेमा महाभारतको द्रोण पर्वमा उपाख्यान नै छ। सत्ययुगमा नारदले राजा अकम्पनलाई उनका छोराको निधन भएका बेलामा सान्त्वना दिँदै मृत्युको स्वरूप बयान गरेको पाइन्छ। मृत्युको उत्पत्तिको प्रसङ्गमा चाहि सृष्टिको आदिकालमा जीवहरूको संहारको कुनै परिकल्पना गरिएको थिएन।  सम्पूर्ण जगत् प्राणीवर्गले भरिभराउ भएपश्चात् ती प्राणीहरूको संहारका लागि ब्रह्माजी चिन्तित हुनुभयो। केहि उपाय नदेखेर ब्रह्माजीको आँखा, कान आदिबाट अग्निका ज्वालाहरू निस्किए जसले आकाश, पृथ्वी तथा दिशाहरू दग्ध हुन थाले। अनेक स्थावर र जंगम प्राणीहरू नष्ट भए।  त्यस्तैमा एकादश रुद्रमध्ये स्थाणु नामक रुद्रले ब्रह्माजीसँग प्रार्थना गर्न थाले– आफ्नै सृष्टिका प्रजाहरूमाथि दया गर्नुहोस्, उनीहरू जलिरहेछन्।  

ब्रह्माजीले भन्नुभयो– मेरा इच्छाले मैले यी प्रजावर्गको विनाश गर्न लागेको होइन अपितु पृथ्वीको भार कम गर्नका लागि मेरा मनमा आगाको ज्वाला दन्कियाे जसको कारणले गर्दा यी प्राणीवर्ग जल्न पुगेका हुन्।  पृथ्वीले नै मलाई भार कम गर्नाका लागि प्रेरित गरेकी हुन्। तत्पश्चात् रुद्रको अनुरोधमा ब्रह्माजीले आफ्नो क्रोधलाई दबाउनु भयो र शान्त हुनुभयो।

त्यसक्रममा ब्रह्माजीको इन्द्रियबाट एक स्त्री उत्पन्न भईन्। उनको शरीर श्याम र रक्त वर्ण मिश्रित थियो। ब्रह्माजीको शरीरबाट उत्पत्ति भएकी ती स्त्री गएर दक्षिण दिशामा खडा  भइन्। रुद्र र ब्रह्मालाई देखेर मुस्कुराइरहेकी स्त्रीलाई देखेर ब्रह्माले आफ्नो नजीकमा बोलाएर भन्नुभयो– हे मृत्यु ! मेरो संहार बुद्धिबाट उत्पन्न भएकी तिमीले पण्डित, मूर्ख तथा समस्त प्रजावर्गको संहार गर्नू। मेरा आज्ञाले यो कार्य गर्दा तिमीलाई पनि कल्याण हुनेछ। 
तब मृत्यु रुन थालिन् र भन्न लागिन्– मलाई पापदेखि डर लाग्छ। प्राणीहरूका प्राणलाई मैले कसरी हरण गर्न सक्छु ? उनीहरूले मलाई नाना किसिमका आक्षेप लगाउनेछन्। दुखीहरूको जीवनलाई मैले कसरी हरण गर्न सक्छुर ? मैले संहार गरेपछि त  म यमलोकमा जानुपर्ने हुन्छ। यस्तो पापकर्मबाट मलाई बचाउनुहोस्। 

ब्रह्माजीले मृत्युलाई सम्झाउदै भन्नुभयो– सज्जन तथा दुखीहरूको वध गरे पनि त्यसको पाप फल तिमीले भोग्नु पर्ने छैन। सनातन धर्मले तिम्रो रक्षा सदैव गर्नेछ। लोकपाल, यम र रोगव्याधिहरूले तिम्रो काममा सहायता गर्नेछन् र तिमी पापमुक्त रहनेछौ। मृत्युले निवेदन गरिन्– लोभ, क्रोध, निन्दा, ईर्ष्या, द्रोह, मोह, निर्लज्जता, कठोर वाणीजस्ता दोषहरूले नै प्राणीको देह विनाश होओस्।  

ब्रह्माजीले पनि त्यस्तै हुनेछ भन्दै मृत्युलाई आज्ञा दिनुभयाे– तिमीले काम र क्रोध रहित भएर संहारको कार्य गर्नू।  यसले गर्दा तिमीलाई धर्मको प्राप्ति हुनेछ।  मिथ्याचारीहरूलाई त उनीहरूको अधर्मले नै मार्नेछ, तिमीले मार्ने पर्दैन। आजपर्यन्त पनि मृत्युको सम्मुख पर्दाको अत्यन्त सूक्ष्म क्षणमा जीवहरू बेहोसीका अवस्थामा रहन्छन् र मृत्युलाई सहर्ष स्वीकार गर्दछन्।

यसरी नारदले मृत्युको उपाख्यान सुनाएपछि राजा अकम्पन शान्त भएको कुरा महाभारतमा आउँछ। नेपालको इतिहासमा पनि आफ्ना छोराको निधनमा भावविह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिनकै लागि कान्तिपुरका राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गराउनुका साथै गाईजात्राको चलन नै चलाएर संसारमा अरु पनि मान्छे मर्ने गर्छन् भनेर सान्त्वना दिएको प्रसङ्ग पाइन्छ। 

विश्वका प्रायजसो धर्म तथा सम्प्रदायमा मृत्युलाई यसरी चित्रण गरिएको छ कि मानौं, मृत्यु एक विशाल त्रास हो र संसारको सबैभन्दा ठूलो दुख नै मृत्यु हो। मृत्युलाई सामान्य मानिसले भयङ्कर र विद्रूप परिकल्पना गरे पनि संसारले मानेका सन्तहरूका प्रवचन सुन्दा, सम्यक दृष्टिले विचार गर्दा मृत्यु विकराल र विद्रूप छैन। मृत्यु अत्यन्त कल्याणकारी र आदरणीय रहेको पनि बुझ्न सकिन्छ ।

जुन वस्तुको आदि छ, त्यस वस्तुको अन्त्य पनि अवश्यै छ। प्रारम्भपश्चात् समाप्ति प्रकृतिको नियम नै छ। शरीरयात्राको प्रारम्भ जन्मबाट हुन्छ भने यात्राको समाप्ति मृत्युबाट हुन्छ। गहिरिएर हेर्ने हो भने प्रत्येक जीव जन्मनासाथ नै मृत्युको नजिक हुँदै गइरहेको हुन्छ। जतिजति हुर्कंदै जान्छ, उतिउति मृत्युको नजिक पुग्दै गएको हुन्छ।

मृत्यु प्राकृतिक र स्वाभाविक छ ,जो प्रत्येक जीवनधारीहरूमा घटित हुन्छ। तर मान्छे मृत्युसँग यसरी भयभीत छ कि जसरी एक बालक उज्यालोबाट अन्धकारमा प्रवेश गर्दा भयभीत रहन्छ। मृत्युको भयले गर्दा उसले आफ्नो जीवनको सुख नै राम्रो सँग अनुभूत गर्न नसकेको बुझ्न सकिन्छ। मृत्युमा विलीन हुने भयले मान्छेले मृत्युलाई कहिल्यै बुझ्ने कोसिस  नै गरेन भन्दा पनि हुन्छ। 

निष्ठा, त्याग, समर्पण, आत्मबोध जस्ता कुराहरू नसिकाईदा मान्छे कृपण बन्दै गएको छ। गुमाउनुपर्ला कि भन्ने भयले उसलाई सदैव आक्रान्त पारिरहेको छ। आजको मानव मन केही कुरा पनि  गुमाउन खोज्दैन । त्याग र समर्पण भन्ने कुरा उसले बिर्सिसकेको छ भन्दा फरक पर्दैन। यी सबै कारणले गर्दा मृत्यु एक विशाल त्रास र विद्रूप प्रकृतिको बन्दै गएको अनुभूति मान्छेले गर्ने गरेको पाइन्छ।

वास्तवमा मृत्युको सम्यक स्मरणले विवेकशील व्यक्तिलाई सद्धर्मको पालन गर्दै नैष्कर्म्यतर्फ उन्मुख गराउँदै जीवनलाई मोक्षतर्फ लैजान्छ।  त्यस्ता व्यक्तिका लागि मृत्यु एक महोत्सव बन्न पुग्छ।  शान्त, सुखी र स्वस्थ जीवनयापन जीवनको एक कला भएजस्तै मृत्युको सम्यक आलिङ्गनले जीवनलाई सुखी र शान्त बनाउँदै लैजाने भएकाले मृत्युको बोध पनि एक किसिमको जीवनको कला नै हो। स्वसिद्धान्त, आदर्श र सद्धर्ममा रहनेहरूले नै जीवनमा मृत्युको सहज आलिङ्गन गर्न सक्षम हुन्छन्। त्यस्ता व्यक्तिहरूको जीवन र मृत्यु दुवै धन्य बन्न पुग्छन्।

युनानका दार्शनिक सुकरातालाई विष दिनेबेला सोधियो– के तपाईंलाई मृत्युदेखि डर लाग्दैन र? सुकरातले जवाफ दिए– मलाई  बडो आनन्दको अनुभूति भइरहेछ कि मेरो आत्मा पाञ्चभौतिक पिंजडाबाट मुक्त हुँदैछ। 

केही व्यक्ति विषम परिस्थितिलाई सम्हाल्न नसकेर, परिस्थितिबाट भयभीत रहेर मृत्युको चाहना गर्छन्। कोहि कोहि त आत्महत्या पनि गर्छन् जुन सबैभन्दा ठूलो पापका रूपमा समाज अनि शास्त्रहरूमा चित्रित छ। जीवनको आरम्भ र अन्त दुवै मनुष्यको हातमा छैन। मनुष्यसँग केवल वर्तमान मात्रै रहेको हुनाले गर्दा मनुष्यको अधिकारक्षेत्रभन्दा बाहिरको विषय हो, मृत्यु। 

पाञ्चभौतिक देहको विशेषता नै यहि हो कि शरीर विकारयुक्त छ। विकारयुक्त शरीर लिएर पनि त्यसलाई जीवन रहँदासम्म सकेसम्म शुद्धि गर्दै सद्धर्मको उचित पालनपूर्वक जीवनलाई लोक कल्याणकारी र उन्नत बनाउनु नै मानव जीवनको मुख्य उद्देश्य हो। 

शृंगार र स्वरूपको क्षणिकतातर्फ नगएर मन, वचन र कर्मद्वारा पवित्र रहन सकेको खण्डमा जीवनमा सात्त्विक सौन्दर्य फलिभूत हुन सक्ने र त्यसले अज्ञानको जडताबाट बिस्तारै मुक्त हुँदै जाने अवस्थाको निर्माण हुन पुग्छ। क्षणिक शरीरको क्षणिक मोह नै मृत्युको बेलामा सामुन्ने खडा रहँदा मृत्यु अझ भयानक र दर्दनाक बन्न पुगेको देखिन्छ।

शरीर कर्मप्रधान छ। कर्म नै जीवनको आधार हो। शरीरद्वारा धर्म, अर्थ, काम र मोक्ष जस्ता पुरुषार्थ सिद्ध गर्न सकिन्छ। जीवनकालमा मृत्युको चाहना गर्नु राम्रो होइन भने मृत्यु समुपस्थित हुँदा वा शरीर अत्यन्तै जीर्ण भएको अवस्थामा र आयु पनि निकै भएको अवस्थामा ज्यादा जीवनको अपेक्षा गर्नुपनि उचित होइन। जीवनभर परोपकाररत, दयाद्रवित, निष्कर्मतर्फ अग्रसर रहेका व्यक्तिहरू मृत्युको समयमा पनि शान्त रहन सक्छन्। महात्माहरू देहात्यागको समयमा पनि शान्त, सौम्य अनि निर्विकार भावले मृत्युलाई सहज आलिङ्गन गर्दछन्। 

सामान्य हिसाबले हेर्दा मृत्युलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ–  काल मृत्यु र अकाल मृत्यु। 

जीवनभर परोपकाररत, दयाद्रवित, निष्कर्मतर्फ अग्रसर रहेका व्यक्तिहरूले ग्रहण गर्ने मृत्यु काल मृत्यु हो भने त्यसको ठीक विपरीत रहेका, मोह तथा कर्ममा आसक्ति राख्नेहरूले ग्रहण गर्ने मृत्यु नै अकाल मृत्यु भनेर बुझ्न सकिन्छ। भनिन्छ– मृत्युको समयमा जीवनकालमा गरिएका पाप–पुण्यहरू आँखाअगाडी झलझली आउँछन् र साधारण व्यक्तिहरू ज्यादा भयभीत हुन्छन् । तर धीर पुरुषहरू भने मृत्युको सामुन्ने पनि सौम्य र निर्विकार भावले रहन सक्ने हुन्छन्। मृत्युलाई सहज रूपले आलिङ्गन गर्न सक्ने योगीहरुले प्रकृतिमा आफूलाई विलीन गराउन सक्ने सामर्थ्य राख्छन् । आम व्यक्तिले मृत्युलाई सहज रूपले आलिङ्गन गर्न नसक्ने भएकाले उनीहरू सबैले अकाल मृत्युलाई वरण गरिरहेका छन्। मर्नु सबैले पर्छ तर मृत्युलाई कति सहज रूपले आलिङ्गन गरियो भन्ने  कुरा नै मुख्य  कुरा हो।

संसारमा भयले सर्वत्र स्थान ओगटेको छ। भयदेखि रिक्त स्थान नै देखिदैन।त्यस्तो हुनाले गर्दा भयबाट मुक्ति नै जीवनको मुख्य लक्ष्य हो। सबै किसिमका भयबाट मुक्ति दिने एक मात्र चीज ज्ञान हो।  ज्ञानले नै जीवनमा सबै किसिमका भयबाट मुक्ति दिन्छ। 

भगवद्गीतामा श्रीकृष्ण भन्नुहुन्छ– न हि ज्ञानेन सदृशम् पवित्रमिह विद्यते। (अध्याय ४, श्लोक क्रमाङ्क ३८) भावार्थ– ज्ञानजत्तिको पवित्र गराउने अरु केही छैन।

मान्छेको पूरै जीवनकाल नै मृत्युको भयबाट ग्रस्त छ। सारा प्रयत्न लगाएर पनि मृत्युको भयबाट मानव मन पूर्ण रूपले मुक्त हुन सकेको छैन। वास्तवमा मृत्यु नै जीवनको एक महत्त्वपूर्ण प्रक्रिया रहेको बुझ्न सकिन्छ। दैनिक जीवनमा जसरी दिनभरको भागदौडको पश्चात् आराम र निद्राको आवश्यकता पर्छ, ठीक त्यस्तै गरेर जीवनभरको अथक श्रम तथा  भागदौडपश्चात् शरीरको आराम पनि आवश्यक छ। जीर्ण बन्दै गएको शरीरले सदा सदाका लागि आराम गर्न खोज्छ। भगवद्गीतामा श्रीकृष्ण भन्नुहुन्छ–
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोपराणि।
तथा शरीराणि विहाय जिर्णान्यन्यानि संयाति नवानि देही।।
 (अध्याय २, श्लोक क्रमाङ्क २२) भावार्थ– जगतमा जीर्ण वस्त्रको त्याग गरेर मनुष्यले नवीन वस्त्रको धारण गर्छ । त्यस्तैगरी आत्माले पनि जीर्ण शरीरको त्याग गर्छ र नवीन देहको धारण गर्छ।  

मृत्युले जीवनभरको थकान र यात्रापश्चात् मान्छेलाई विश्राम र शान्ति दिन्छ। यदि जीवन सक्षम रहँदै आफूलाई चिन्न सकियो र आत्मबोध गर्न सकियो भने तपाईं हाम्रो जीवन र मृत्यु दुवै वन्दनीय हुने र हामी जीवन–मृत्युको भयबाट सदैव मुक्त हुनेछौं। 

जो जन्म लिन्छन्, उनीहरूको मृत्यु स्वाभाविक नै छ। मृत्युका विषयमा शोक गर्नु अवश्यै राम्रो होइन। मोहमा वशीभूत भएर रोईकराई गरेर दुख बढाउनु अविवेक हो। मोहबाट मुक्त रहेर संसारको सत्यलाई स्वीकार गर्न सकियो भने जीवन सुन्दर बन्नेछ ।

संसारमा तिनै महापुरुषहरू मृत्युको विभीषिकाबाट मुक्त छन्, जसले जीवन र मृत्युको भेदलाई बुझ्न सकेका छन्।  संसारमा तिनै व्यक्ति अमर स्वरूपले रहेका छन्, जसले भौतिक जीवनकालमा आफ्ना सुकीर्तिहरूले संसारको सेवा गरेका छन्। स्वार्थरहित भएर परोपकार, लोककल्याण र स्वधर्ममा रहनेहरूले मृत्युको विभीषिकालाई सहजै पार गरेका छन्।  हामीले पनि जीवनको महत्त्व बुझेर मृत्युलाई सहज रूपले अङ्गाल्न सक्यौं भने हाम्रो जीवन र मृत्यु दुवै धन्य हुन जान्छ। त्यसर्थ मृत्युलाई चिन्नु र यसलाई सहजताका साथ स्वीकार्न सक्ने बन्नु नै जीवनको पूर्णता हो। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *