एपीएफ र सुदूरको लगातार जित

Bynepalbihani

२४ बैशाख २०७९, शनिबार १५:३२ २४ बैशाख २०७९, शनिबार १५:३२ २४ बैशाख २०७९, शनिबार १५:३२

काठमाडौँ — नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो विजय हात पारेको छ  । एपीएफले सोमबार वाग्मती प्रदेशलाई ८ विकेट र सुदूरपश्चिमले कोशी प्रदेशलाई ३ विकेटले हराए । वाग्मती र कोशीको हकमा दुवैको यो लगातार दोस्रो हार हो ।

लगातार तीन पटकको च्याम्पियन एपीएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गर्दै वाग्मतीलाई निर्धारित २० ओभरमा ७३–६ को स्कोरमा रोकेको थियो ।

करुणा भण्डारीले सानदार बलिङ गर्दै वाग्मतीलाई ठूलो स्कोर बनाउनलाई रोक्न भूमिका खेलिन् । प्लेयर अफ द म्याच करुणाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । कप्तान सीता रानामगरले ४ ओभरमा ७ रनमात्र खर्चेर २ विकेट लिइन् । ओपनर हेलिसा गुरुङले सर्वाधिक ३१ रन बनाइन् । उनले ५० बल खेल्दै ३ चौका प्रहार गरिन् । खुशी डंगोलले २२ बल खेल्दै १ चौकासहित अविजित १४ रन बनाइन् । कञ्चन श्रेष्ठ ४, यशोदा विष्ट ३, कप्तान अस्मिना कर्माचार्य ३ र विपाशा शाही २ रन र सोनी पाख्रिन शुन्यमा आउट भए ।

ममता चौधरीले अविजित ३५ रन बनाएपछि एपीएफले ११ ओभरमै लक्ष्य पूरा गर्‍यो । उनले ३२ बलमा ५ चौका प्रहार गरिन् । सीता ११ र इन्दु बर्मा १७ रनमा आउट भए । इन्दुले १२ बलमा ३ चौका प्रहार गरिन् । राजमति ऐरीले १२ बलमा अविजित १० रन बनाइन् । वाग्मतीकी खुशीले १ विकेट लिइन् ।

अर्को खेलमा टस जितेको सुदूरपश्चिमले ८ विकेट गुमाई १ सय १२ रन बनाएको थियो । सम्झना खड्काले ५४ रन बनाइन् । प्रतियोगितामा यो पहिलो अर्धशतक हो । प्लेयर अफ द म्याच उनले ५१ बल खेल्दै ४ चौका प्रहार गरिन् । रितु कनोजियाले ३५ बलमा १ चौकासहित २३ र कप्तान विन्दु रावलले १४ बल खेल्दै २ चौकासहित १४ रन बनाए । कोशीकी सवनम राई, हिरनमयी रोय र संगीता राईले २–२ तथा अलिशा खडियाले १ विकेट लिए ।

कोशीले ७ विकेट गुमाई ९३ रनमात्र बनाउन सक्यो । ओपनर काजल श्रेष्ठले ३३ र कप्तान अप्सरी बेगमले २३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । काजलले ४० बल खेल्दै २ चौका र अप्सरीले ३४ बल खेली ३ चौका प्रहार गरिन् । तीन खेलाडी रनआउट भएको कोशी इनिङ्सबाट रितु, लक्ष्मी साउद, जानकी थापा र विन्दुले १–१ विकेट लिए ।

एपीएफले अघिल्लो दिन कोशीलाई २४ रन र सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई १६ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *